काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महरा शनिबार अचानक चीनतर्फ लाग्नुभएको छ । तिब्बतमा हुने एक कार्यक्रममा सहभागी हुन उहाँ त्यसतर्फ जानुभएको सरकारले जनाएको छ ।
तर असोजको पहिलो हप्ता हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको भन्ने खबर सार्वजनिक भएपछि भ्रमण सुनिश्चित गर्न उहाँ चीन जानुभएको हो । ‘तिब्बतमा हुने कार्यक्रमा त सहभागी हुनुहुन्छ नै, त्योभन्दा मुख्य कुरा त्यहाँका राष्ट्रपतिलाई जसरी पनि नेपाल ल्याउनको लागि आवश्यक वातावरण बनाउन उहाँ शनिबार बिहान त्यसतर्फ लाग्नुभएको हो’ प्रधानमन्त्री निकट स्रोतले भन्यो ।
त्यसो त पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन हुने बित्तिकै महरा सरकारको विशेष दूतका रुपमा चीन जानुभएको थियो । त्योबेला चिनियाँ राष्ट्रपतिले असोजको अन्तिम हप्ता नेपाल भ्रमण गर्ने कुरा लगभग पक्का भएको थियो, तर कुन दिन भन्ने चाहिँ टुंगो लाग्न बाँकी थियो ।
सरकारले भ्रमणको विषयमा आवश्यक तयारी गरिरहेको भनिरहँदा एक्कासी चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित भयो भन्ने खबर सार्वजनिक भयो । चीनका राष्ट्रपति नेपाल आउन लागेको भनेर सबैले महत्वका साथ हेरिरहेको बेला यस्तो खबर आएपछि धेरैले सरकारको आलोचना गरे । केपी ओली सरकारकै पालामा सुरु भएको तयारीलाई वर्तमान सरकारले निरन्तरता दिन नसक्दा यस्तो अवस्था आएको हो भन्नेहरु धेरै भए । एमालेका सांसदहरुले त संसदमा यसबारे जवाफ दिन सरकारसँग माग गरे । आलोचना धेरै हुन थालेपछि वर्तमान सरकार जसरी पनि चिनियाँ राष्ट्रपतिलाई नेपाल ल्याउने तयारीमा जुटेको हो ।
असोजको पहिलो हप्ता हुने भनिएको चिनियाँ राष्ट्रपति सि जिनपिङको नेपाल भ्रमण स्थगित भएको हो या होइन भन्नेबारे सरकारले अझै प्रष्ट पार्न चाहिँ सकेको छैन । केपी ओली सरकारको पालामा भएको सम्झौता कार्यान्वयनमा ढिलाई र आवश्यक तयारी नपुगेका कारण भ्रमण स्थगित भयो भन्ने खबर सार्वजनिक हुने बित्तिकै परराष्ट्र मन्त्रालयले विज्ञप्ती निकाल्यो ।
भ्रमण हुँदा र नहुँदा के हुन्छ ?
असोज अन्तिम हप्ता चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमण हुन्छ भन्ने कुरा अघिल्लो सरकारको पालामै भएको हो । केपी ओली नेतृत्वको सरकार हटाउने बेलामा पनि कांग्रेस र माओवादीलाई धेरैले चिनियाँ राष्ट्रपतिको भ्रमणसम्म पर्खन आग्रह गरेका थिए । तर सरकार परिवर्तन हुँदा पनि भ्रमणको तयारीमा असर नपर्ने र भ्रमण हुने कांग्रेस र माओवादीका नेताहरुले बताएका थिए । त्यसो त चीनले पनि नेपालमा जसको नेतृत्वमा सरकार बनेपनि फरक नपर्ने प्रतिक्रिया दिएको थियो । लगत्तै महरा चीनबाट फर्किंदा भ्रमण सुनिश्चित भएको दावी गर्नुभएको थियो ।
यसअनुसार चीनका राष्ट्रपति नेपाल आउँदा अघिल्लो सरकारको पालामा भएका सम्झौता कार्यान्वयनमा महत्वपूर्ण उपलव्धी हासिल हुने अपेक्षा छ । खासगरी चीनले अघि सारेको वान बेल्ट वान रोडको बृहत्तर समझदारी पत्रमा हस्ताक्षर हुने सम्भावना छ । यस्तै भ्रमणकै बेला नेपालमा रेल, सडक र पूर्वाधार विकासका लागि चीनले सहयोग गर्ने अपेक्षा छ ।
आर्थिक सहयोगसँगै कुटनीतिक सम्बन्धको पाटो त आफ्नो ठाउँमा छँदैछ । चिनियाँ राष्ट्रपतिको भ्रमण स्थगित हुने बित्तिकै यी सबै सम्भावना र अपेक्षा पूरा हुन धेरै समय कुर्नुपर्ने हुन्छ । त्यसैले चिनियाँ राष्ट्रपतिलाई जसरी पनि नेपाल भ्रमण गराउन वर्तमान सरकार लागिपरेको हो ।
Saturday, September 10, 2016
Home »
» चिनियाँ राष्ट्रपतिको भ्रमण पक्का गर्न महरा अचानक चीनतर्फ हानिए
0 comments:
Post a Comment