Tuesday, August 23, 2016

दर्दनाक हत्याको कारण बन्यो अन्तरजातीय विवाह – घटना भन्दा १ दिनअघि मात्र उनी अबुदाबीबाट इमर्जेन्सी बिदामा नेपाल गएका थिए

अन्तरजातीय विवाहले अजित मिजार ढकालको मृत्युको यात्रा दिलाएको खबर सेलाउन नपाउँदै पोखरामा अर्का एक जोडीले आफ्नो अमूल्य जीवन गुमाए । स्याङ्जाको किचनास–३ का सञ्जीव नेपाली र पौवेगौडे–२ की सोनम रेग्मीको जीवनले पूर्णविराम पाएको यो दर्दानक हत्याको कारण पनि अन्तरजातीय विवाह थियो ।

सञ्जीव र सोनमको विवाहले विशेष गरी सोनमको परिवार खुशी थिएन । सञ्जीव दलित परिवारका थिए भने सोनाम आफुलाई उपल्लो जातको भनिने बाहुन परिवारकी छोरी । कलिलै उमेरमा (१७ वर्ष) भागेर प्रेम विवाह गरेका यी दुई जोडीको विवाह भएको ५ वर्षपछि मृत्यु हुनुमा हाम्रो समाज कत्तिको दोषी छ ? यसको लेखाजोखा बिदेशमा बस्ने नेपालीहरुले पनि उत्तिकै गर्नेगरेका छन् ।

सञ्जीव विगत १९ महिनादेखि यूएईमै कार्यरत रहेको र श्रीमती सोनमको हत्या गरी आत्महत्या गर्नु भन्दा १ दिनअघि मात्र उनी नेपाल गएका थिए । उनलाई यो अवस्थासम्म ल्याइपुर्याउन कसको हात रहेको छ भनेर विदेशमा रहेका दलित समाजसेवी र अधिकारकर्मीहरुले विशेष आवाज उठाउन थालेका छन् । अझ नेपालका केही मिडियाले अन्तरजातीय विवाहका कारण भएको उक्त दुःखद् घटनालाई सोनमको रुपसँग जोडेर उनको रुपलाई कारण बनाउँदै दलित अधिकार र छुवाछूतविरुद्धको आन्दोलनलाई कमजोर बनाउने काम भन्दै सामाजिक सञ्जाल मार्फत आक्रोश व्यक्त गरेका छन् ।

murder-suicide1
घटनाक्रम के थियो ?

सञ्जीव नेपाली र सोनम रेग्मीबीच किशोरावस्थामै माया प्रेम बस्यो । हुर्कदै गएको प्रेम परिवारले स्वीकार नगर्ने भएपछि दुवैले भागी विवाह गरे । तर सोनमको परिवारले स्वीकार गर्न सकेन । केही दिनमै सोनमको माइती पक्षले केटाबाट खोसेर सोनमलाई लगे । तर सञ्जीवले पुनः सोनमलाई फर्काए ।

विवाह भएको ३ वर्षसम्म सामान्य जीवन बिताइरहेका यी दुई जोडीलाई आर्थिक अभाव खड्केको थियो । सोनमलाई माइती पक्षले अपहेलना गर्दै कुनै पनि सहयोग नगरेको र सञ्जीवको पनि आर्थिक अवस्था राम्रो नभएकाले दुवै जनाको सल्लाह अनुसार नै १९ महिना अगाडि सञ्जीव अबुधाबीस्थित लुलु हाइपर मार्केटमा वैदेशिक रोजगारका लागि आएका थिए । पछिल्लो समय सञ्जीवका यी दुई जोडी सँगसँगै रहँदा सोनमका माइतीले वास्ता नगरे पनि सञ्जीव विदेश गएको भन्ने खबर सुनेपछि भने फेरि उनीहरुलाई छुटाउने प्रयास सुरु गरे । माइती पक्षले सञ्जीव दलित भएको, पढालेखा पनि नभएकाले छोरी सोनमलाई अस्ट्रेलिया पठाइदिने भनी फकाए । सोनमले पछिल्लो समयमा माइती पक्षकै उक्साहटमा अदालतमा सम्बन्ध विच्छेदको मुद्दासमेत दर्ता गरिन् ।

उनीहरुले सञ्जीवको जानकारी र अनुमतिबिना नै छोरी सोनमलाई पोखरा–८ चालिसे मार्गस्थित दामोदर चालिसेको घरमा कोठा भाडामा लिएर राखिदिए । सो खबर पाएका सञ्जीवले आफ्नी श्रीमतीलाई सम्झाउने बुझाउने प्रयास गरे । पछिल्लो ७ महिनामा उनी ३ पटक नेपाल छुट्टी गए । दूरी बढ्दै गएको सम्बन्धलाई फेरि कसिलो पार्ने प्रयास गरे । उनी कसै गरे पनि सोनमलाई छोड्ने पक्षमा थिएनन । उनी भन्थे– सँगै जिउने सँगै मर्ने हामीले खाएको कसम पूरा गरेरै छोड्नेछु ।

धेरै प्रयास गर्दा पनि नभएपछि उनी गत साउन ३२ गते मङ्गलबार (१६ अगस्ट) का दिन फेरि कम्पनीमा इमर्जेन्सी छुट्टी मिलाई नेपाल गए । भदौ १ गते बुधबार (१७ अगस्ट) का दिन उनी सोनमलाई खोज्दै खोज्दै दामोदर चालिसेको घरमा पुगे । अनुहारमा मास्क लगाएर बेलुकी ६ बजेतिर पुगेका उनले धारिलो हतियारले सोनमाको हत्या गर्दै आफुले विष सेवन गरी आत्महत्या गरे । घटना भइरहेको कसैले पत्तो पाएनन् । छिमेकीहरुले दुवैजना लडिरहेको देखेपछि घटना स्थलमा पुग्दा सोनमको मृत्यु भइसकेको थियो भने सञ्जीवको मृत्यु अस्पतालमा भएको थियो ।

कस्ता स्वभावका थिए सञ्जीव ?
आफ्नी श्रीमतीलाई ससुराली पक्षले अस्ट्रेलिया पठाएर आफूबाट छुटाउन खोजेको जानकारी सञ्जीवले पाइसकेको अबुधाबीमा एउटै कोठामा बस्ने खेम सुनार बताउँछन् । खेमका अनुसार ससुरालीले आफ्नो वैवाहिक जीवनमा फेरि खेले भन्ने थाहा पाएपछि उनी अत्यन्तै चिन्तित देखिन्थे । सामान्यत कम बोल्ने सञ्जीव यो खबर सुनेपछि दोहोरो संवाद गर्न नै मन गर्दैन थिए । उनी कम बोल्ने स्वभावका व्यक्ति थिए । १९ महिनासँगै एउटै कोठामा बस्दा सञ्जीवले कहिल्यै पनि मदिरापान गरेनन् । उनी चुरोट सेवन पनि गर्दैन थिए । झैझगडा र वादविवाद गर्न नरुचाउने सञ्जीव आफ्नो श्रीमतीलाई कसरी सुखी र खुशी राख्ने होला भन्ने ध्याउन्नमा थिए ।

उनीसँग एउटै कोठामा बस्ने कसैले पनि सञ्जीवले यस्तो कार्य गरे भनेर विश्वास गर्न सक्दैनन । सञ्जीवका म्यानेजर त झन् घटना सुनेर तीन छक्क परे । “एक इमानदार प्रेमी जसले सँगै जीउने सँगै मर्ने आफ्नो कसम पुरा गरे” उनका साथीहरु यसै भन्छन् ।

हत्याको कारण सोनमको सुन्दरता कि जातीय विभेद ?
सोनम सुन्दर थिइन । गोलो अनुहार, चिटिक्क परेको शरीर अनि गोरो वर्ण, लोभलाग्दो शरीर र उस्तै उचाइ, उनी यस्तै थिइन् । सोनमको सुन्दरताबाट मोहित थिए सञ्जीव । सञ्जीव सोनम अरुको नहोस् भन्ने चाहन्थे । नेपाल रहुन्जेल सोनम ठीक थिइन् । जब सञ्जीव अबुधाबी आए, सम्बन्धमा चिसोपन सुरु भयो । कारण थियो अस्ट्रेलिया पठाउने माइती पक्षको प्रलोभन ।

माइती पक्ष सोनमलाई सञ्जीवबाट छुटाउन चाहन्थ्यो । किनभने सञ्जीव दलित परिवारका थिए । सोनामको सञ्जीवसँगको विवाह नेपाली समाजमा बिलकुल पचेको थिएन । छोरीले दलितसँग विवाह गरेपश्चात रेग्मी परिवारले समाजमा आफ्नो शिर निहुरेको महशुस गरेको थियो । त्यो शिरलाई उचो बनाउन कसैगरी रेग्मी परिवार सोनमलाई सञ्जीवबाट छुट्याउन चाहन्थ्यो । त्यसैको परीणाम आज यो दर्दानक घटना घट्न पुग्यो । रेग्मी परिवारले छोरी सोनमलाई गुमाए, दलित परिवारले सञ्जीवलाई गुमाए । तर अझै पनि रेग्मी परिवारले ज्वाइँ गुमाएको छैन । आखिर जिम्मेवार को हो ? सञ्जीव, रेग्मी परिवार, कि हाम्रो समाज ?

हो, मन मिलेन, सँगै बस्न सकिएन भने सम्बन्ध विच्छेद गर्ने अधिकार सबैलाई छ । तर जातीयताको आधारमा मानव मानवीबच पर्खाल खडा गर्ने हाम्रो समाजले यस्ता घटना जिम्मा किन लिन सक्दैन ? दलित समाजमा चेतनाको स्तरलाई वृद्धि गर्दै आर्थिक, सामाजिक, शैक्षिक स्तरलाई उकास्न सकियो भने मात्र यस्ता घटनाहरुलाई कम गर्न सकिने ११ वर्ष देखि युएईमा रहेका कृश सुनारको भनाइ छ । उनी भन्छन्– हरेक नेपालीलाई यो संसारमा पहिलो दर्जाको सम्मान मिलोस्, कसैलाई जनवार जस्तो व्यवहार नगरियोस् । जातीयताको नारामा एक आपसको विरोध र अपमान गरि नै रहने हो भने यस्ता आपराधिक घटना अझै बढ्ने छन्, अनि हाम्रो समाज मुकदर्शक बन्नेछ ।
युएई

Share:

0 comments:

Post a Comment

Games

Business

BTemplates.com

Powered by Blogger.

Watch Video

Blog Archive

Find Us On Facebook

Random Posts

Advertise

Social Share

Advertise

Recent comments

Recent Comments

Popular Posts

Most Popular

Blog Archive