सत्ताबाट बाहिरएपछि नेकपा (एमाले) आन्तरिक एकता र सुदृढीकरणमा लागेको छ ।
नवौँ महाधिवेशनपछि पार्टीभित्र पर्याप्त आन्तरिक छलफल र आपसी समझदारी हुन नसकेको प्रश्न उठ्ने गरेका सन्दर्भमा पछिल्लो स्थायी समितिको ४३ औँ बैठकले आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने प्रतिबद्धता सार्वजनिक गरेको छ ।
अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केन्द्रीय कार्यालय, धुम्रबाराहीमा आठ दिनसम्म चलेर यही भदौ ७ गते सम्पन्न बैठकले राष्ट्रिय राजनीति र पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित महत्वपूर्ण विषयमा सघन छलफलपश्चात् आएको उक्त प्रतिबद्धताले कतिपय पार्टीकै कार्यकर्तामा पनि के एमालेमा गुटबन्दी अन्त्य हुन सम्भव होला भन्ने जिज्ञासा उत्पन्न गराएको छ । प्रदेश कमिटीको संयोजक र सहसंयोजकमा सन्तुलित कार्यविभाजन भएकाले माथिबाट एकताको सन्देश पनि एकैसाथ गएको पाइएको छ ।
एमालेले वैचारिक रूपमा स्पष्ट र सङ्गठनात्मक रूपमा एकताबद्ध, जुझारु र क्रियाशील पार्टीले मात्रै मुलुकका समस्या समाधानमा अगुवाइ गर्न भएकाले पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्न, विद्यमान राष्ट्रिय परिवेश, देश र जनताको हित, चाहना तथा आकांक्षालाई आत्मसात् गर्दै पार्टी पङ्क्तिलाई आन्तरिक एकताको सङ्कल्पमा जुट्न निर्देशित गरेको हो ।
विधि, नीति र पद्धतिलाई अनुशरण गर्दै कुनै नेता, कार्यकर्ता र सदस्यलाई कुनै पनि प्रकारको पूर्वाग्रह वा पक्षधरताका आधारमा नभई योगदान, क्षमता, सक्रियता र इमानदारीका आधारमा जिम्मेवारी दिने प्रणाली स्थापित गर्ने सङ्कल्प पनि निर्णयमा छ । कुनै पनि स्तरका कमिटी तथा जनसङ्गठनका निर्वाचनहरू प्यानल–सूचीका आधारमा नगर्ने र उम्मेदवारको योग्यता, क्षमता, योगदान, लोकप्रियता र इमानदारीका आधारमा निर्वाचित हुनसक्ने वातावरण सिर्जना गर्न नेतृत्वको प्रतिबद्धतामा कमी नआउने महासचिव ईश्वर पोखरेले बताउनुहुन्छ ।
सम्पूर्ण रूपमा एकताबद्ध भएर सबै प्रकारका चुनौतीहरूको सामना गर्दै जनताका अधिकार, राष्ट्रिय स्वाधीनता, अखण्डता र स्वाभिमानको पक्षमा दृढतापूर्वक उभिँदै पार्टीलाई गतिशील र सक्रिय बनाउन एमालेको पछिल्लो निर्णय साच्चिकै ऐतिहासिक सावित हुने सचिव योगेश भट्टराई बताउनुहुन्छ ।
पार्टीका संस्थागत निर्णयहरूलाई कार्यान्वयन गर्दै वैचारिक र राजनीतिक कामलाई प्राथमिकता दिने, पार्टीका सिद्धान्त, नीति, कार्यक्रम र निर्णयहरू तदरुकताका साथ कार्यान्वयन गर्ने, यसको सार्वजनिक रूपमा प्रतिरक्षा गर्ने, पार्टीको प्रतिष्ठा र लोकप्रियतामा आँच पुग्ने किसिमका कुनै पनि गतिविधि नगर्ने, बहस र छलफल गर्नुपर्ने विषयमा सम्बन्धित कमिटी र सङ्गठनका बैठकमा विधान र नियमअनुरूप यथोचित रूपमा छलफल गर्ने निर्देशन स्थायी कमिटीले दिएको छ ।
तल्ला कमिटीमा स्थायी कमिटीका निर्देशन कसरी आत्मसात् हुन्छ भन्ने आधारमा एमालेमा गुटबन्दीको प्रभाव कम हुने वा नहुने भन्ने देखाउन सक्नेछ । रासस
0 comments:
Post a Comment